वर्तमान मण्डलीमा प्रार्थनाको अवस्था
१. परिचय
प्रार्थना ख्रीष्टियान जीवनको अत्यन्तै महत्वपूर्ण पक्ष हो। साँच्चै भन्ने हो भने प्रार्थना विश्वासी जीवनको मेरूदण्ड हो। प्रार्थना परमेश्वरसँग कुराकानी गर्ने एउटै मात्र माध्यम हो। आत्मिक जीवन प्रार्थनाबाटै शुरू हुन्छ र यो क्रम मृत्युन्जेलसम्मै चलिरहन्छ। प्रार्थनाले हामीलाई परमेश्वरसँग जोड्ने पुलको काम गर्छ। मण्डली प्रार्थनामय हुँदा परमेश्वरको उपस्थितिको अनुभव हुन्छ, आत्मिक वृद्धि भएको महसुस हुन्छ, सबै माण्डलीक सेवाकाइहरू प्रभावकारी बन्छन्, मण्डली आत्मिक एकतामा बलियो गरी खडा हुन सक्दछ र शत्रुको बलियो गरी सामना गर्न सक्दछ। तर मण्डली प्रार्थनामा कमजोर हुँदा मण्डलीको एकता कमजोर हुन्छ, शैतान प्रबल हुन्छ र मण्डलीमा आत्मिकता होइन सांसारिकता प्रबल भएर जान्छ।
बाइबलले प्रार्थनालाई मण्डलीको जीवनमा विशेष स्थान दिएको छ। पुरानो करार र नयाँ करार दुबैले प्रार्थनाको भूमिकालाई अग्रस्थानमा राखेको छ। पुरानो करारमा एनोसको समयदेखि मानिसहरूले परमप्रभुको नाम पुकार्न शुरू गरे भनी लेखिएको छ (उत्पत्ति ४:२६)। बाइबलीय इतिहासमा हेर्ने हो भने प्रार्थनाकै प्रभावस्वरूप ठूला-ठूला आश्चार्यकर्महरू भएका छन्। यरिहोको पर्खाल तोडिनु (यहोशू ६:२०), सूर्य आकाश मण्डलको बीचमा टक्क अडिरहनु र एक पूरा दिन अस्ताउन हतार नगर्नु (यहोशू १०:१३), २ इतिहास २० अध्यायमा यहोशापातले कुनै युद्ध नै नलडी एउटै मोर्चा बाँधेर आएका आफूभन्दा शक्तिशाली तीनवटा जातिहरूमाथि विजय हाँसिल गर्नु, यो सबै प्रार्थनाको प्रभाव हो। पुरानो समयका मण्डलीहरू प्रार्थनामा एकदमै शसक्त थिए। उनीहरू एकैमनको भएर दिनरात प्रार्थनामा समय बिताउँथे। त्यसैले सो समयका मण्डलीहरूमा एकदमै आत्मिक जागृति थियो। उनीहरू प्रभुका निम्ति सताइँदा, पिटाइ खाँदा, तरवारको धारमा रेटिइँदा, ढुङ्गाले हिर्काइँदा पनि अति आनन्द मनाउँथे। यो सबै प्रार्थनाको प्रभावको कारण थियो। तर वर्तमान् मण्डलीको अवस्था यस्तो छैन। वर्तमान् मण्डलीले प्रार्थनालाई गौण ठानेको छ। उस्तो प्रार्थनामा यत्न गर्दैन। प्रार्थना सेवामा विश्वासीहरूको सक्रियता घट्दै गइरहेको छ भने प्रार्थना केवल एक औपचारिकता मात्रै बनेको छ। कतै कतै कुनै मण्डलीहरूले प्रार्थनालाई महत्वका साथ हेरे तापनि धेरैजसो मण्डलीमा प्रार्थनाहिनता, प्रार्थनाप्रतिको वितृष्णा अति नै विकराल माण्डलीक समस्या बनेर गएको छ। यो प्रार्थनाहिनताले अन्यान्य अनेकौं थप समस्याहरू सृजना गरेको छ।
यस अध्ययनको उद्देश्य भनेको वर्तमान मण्डलीमा प्रार्थनालाई सहि ढङ्गले परिभाषित गर्नु, प्रार्थनाका प्रकारहरूको विषयमा जानकारी गराउनु, प्रार्थनाको महत्वलाई विश्लेषण गर्दै उत्साहित गराउनु, प्रार्थनाका अवरोधहरूको विषयमा सचेत गराउनु, वर्तमान् मण्डलीमा प्रार्थनाको अवस्थाको उजागर गर्नु, प्रार्थनामा देखिएका विकृतिहरूलाई उजागर गर्नु र प्रार्थनालाई प्रभावकारी बनाउने उपायहरूको खोजी गर्दै भविष्यमा मण्डलीलाई प्रार्थनामय बनाउन आवश्यक सल्लाहसुझाव पेश गर्नु हो। यस अनुसन्धान प्रक्रियामा बाइबलिय दृष्टिकोण, मण्डलीका व्यावहारिक अभ्यास, पुस्तकपुस्तिकाहरूको अध्ययन र सर्वेक्षण तथा अवलोकनलाई आधार मानिनेछ।
२. प्रार्थना के हो?
''प्रार्थना विश्वासीहरूले गर्ने त्यो कार्य हो, जसद्वारा तिनीहरूले परमेश्वरसँग बातचित गर्दछन्। उहाँको आराधना र प्रशंसा गर्दछन्, उहाँलाई धन्यवाद चढाउँछन् अनि उहाँको अघि आफ्ना पापहरू मानिलिन्छन् र आफ्नो पापक्षमाको निम्ति उहाँसँग विन्ति गर्छन्।'' आफ्नो चिन्ता, फिक्री, समस्या, प्रभुकहाँ राख्नु, आफ्नो हृदय परमेश्वकहाँ पोखाउनु प्रार्थना हो। प्रार्थनालाई निम्नानुसार व्याख्या गर्न सकिन्छः
(क) परमेश्वरसँग आत्मिक संवाद गर्ने माध्यमः
प्रार्थना परमेश्वरसँग संवाद गर्ने माध्यम हो। वचनद्वारा परमेश्वर हामीसँग बोल्नुहुन्छ भने प्रार्थनाद्वारा हामी परमेश्वरसँग बात गर्न सक्छौं। प्रार्थनाद्वारा परमेश्वरसँग हाम्रो दोहोरो अर्न्तक्रिया हुन्छ। शमूएलले भन्छन्, ''बोल्नुहोस् प्रभु, तपाईंको दासले सुन्दैछ'' (१ शमूएल ३:९)।
(ख) परमेश्वरकहाँ मागहरू जाहेर गर्ने माध्यमः
प्रार्थनामा हामी परमेश्वरसँग हाम्रा मागहरू जाहेर गर्न सक्छौं। येशूले भन्नुभयो, ''अहिलेसम्म तिमीहरूले मेरो नाममा केही पनि मागेका छैनौ, माग र तिमहरूको आनन्द पूरा होओस् भनेर तिमीहरूले पाउनेछौ'' (यूहन्ना १६:२४)।
(ग) परमेश्वरको इच्छा खोज्ने माध्यमः
प्रार्थनाद्वारा हामी परमेश्वरको इच्छाहरू खोज्न सक्छौं। जब दाउद र उनका मानिसहरू बसेको शहर सिकलगलाई अमालेकीहरू आएर आगो लगादिए र उनीहरूका पत्नीहरू, छोराछोरीहरू र उनीहरूका सबै धनमालहरू लुटेर लगे, तब उनका निम्ति आफ्नो प्राण हत्केलामा राखेर उनको पछि लागेका मानिसहरूले समेत उनलाई ढुङ्गाले हिर्काउन खोजे। तब यतिबेला दाउद साह्रै संकष्टमा परे। अनि दाउदले अबियातार पूजाहारीलाई एपोद ल्याउन लगाए, अनि दाउदले परमप्रभुलाई यसो भन्दै सोधखोज गरेः ''के म यस फौजको पिछा गरूँ? के म तिनीहरूलाई भेट्टाउँला?'' अनि उहाँले जवाफ दिनुभयो, ''पिछा गर''(१ शमूएल २९:८)।
(घ) प्रभुमा आफैलाई समर्पण गर्ने माध्यमः
प्रार्थना यस्तो माध्यम हो जसद्वारा हामीले आफैलाई परमेश्वरकहाँ समर्पण गर्न सक्छौं। बिनासमर्पणको हाम्रो आत्मिक जीवन फलवन्त बन्न सक्दैन।
(ङ) प्रभुसँग मेलमिलाप गर्ने माध्यमः
प्रार्थनाद्वारा हाम्रा सबै अधर्म, पाप, कमिकमजोरीहरूलाई स्वीकादैं, प्रभुसँग क्षमा मागेर उहाँसँगको भक्तिएको सम्बन्धलाई मिलान गर्न सक्छौं।
३. प्रार्थनाको महत्व
एक विश्वासीको जीवनमा र माण्डलीमा प्रार्थनाको अति नै ठूलो भूमिका रहेको हुन्छ। प्रार्थना एक विश्वासी र मण्डलीको मेरूदण्ड हो। जसरी मेरूदण्डबिना मानिस सिधा खडा हुन सक्दैन, त्यसरी नै प्रार्थनाबिना मण्डली पनि विश्वासमा खडा रहन सक्दैन। मण्डलीका प्रत्येक सदस्यलाई प्रार्थनाको आवश्यकता पर्छ। साधारण विश्वासीदेखि लिएर पास्टर, एल्डर, डिकन, प्रचारक सण्डेस्कुल टिचर सबैलाई प्रार्थनाको खाँचो छ। प्रार्थनाले हाम्रो सेवाकाईलाई प्रभावकारी र फलवन्त बनाउँदै लैजान्छ। एक प्रचारकले प्रार्थनामा संघर्ष नगरी प्रचार मात्रै गयो भने उसको प्रचार केवल शब्दहरूको थुप्रो मात्रै बन्न जान्छ, त्यो प्रचारले स्रोताहरूको जीवनका कुनै प्रभाव पार्न सक्दैन। त्यो प्रचारले स्रोताहरूमा जीवन होइन मृत्यु ल्याउँछ। ''प्रचार गर्ने मानिस प्रार्थना गर्ने मानिस हुनुपर्छ। प्रार्थना नै प्रचारकको अति शक्तिशाली हतियार हो। यो एउटा स्वयं सबै गर्न सक्ने शक्ति हो, यसले सबैलाई जीवन र शक्ति दिन्छ। साँचो प्रचार भित्रि कोठामा तयार गरिन्छ।''
प्रार्थनाले जीवन बदल्छ। प्रार्थनाले एक पापी व्यक्तिलाई धर्मी बनाउँछ। प्रार्थनाले धेरैको जीवनलाई परिवर्तन गरेको छ। प्रार्थनाले जीवन मात्रै होइन परिस्थितिलाई पनि बदल्छ। प्रार्थनाले कठिनाइका पहाडहरूलाई समतल बनाउँछ। असहज परिस्थितिहरूलाई सहज बनाउँछ। प्रार्थनाले हिजकियाह राजालाई अश्शुरीहरूसँ विजयी गराएझैं विजयी बनाउँछ। प्रार्थनाले दिनहुँको जीवनमा पनि एक विजेताको जीवन जिउन मद्दत पुऱ्याउँछ। जति प्रार्थना गऱ्यो उतिनै हाम्रो विश्वास बलियो हुन्छ। प्रार्थनाले हाम्रो विश्वासको जगलाई मजबुत बनाउँदछ।
मण्डलीमा आत्मिक जागृतिको चाह गर्नु हो भने त्यसको निम्ति एउटै मात्र उपाय प्रार्थना हो। मण्डली प्रार्थनामा कमजोर छ भने मण्डलीले आत्मिक जागृति देख्न सक्दैन। सन् १९३७ तिर भारतको मार्टिनपूर भन्ने ठाउँमा बख्त सिंहको प्रचारद्वारा एक ठूलो आत्मिक जागृति आएको थियो। सिङ्गो गाउँनै प्रभुतिर फर्किएको थियो। यसको कारण बख्त सिंहको प्रार्थना थियो। यसरी नै प्रार्थनाले परमेश्वरसँगको सम्बन्धलाई कसिलो बनाउँछ। प्रार्थनाद्वारा परमेश्वरसँग बातचित हुने हुनाले जति उहाँसँग कुराकानी गऱ्यो, त्यति उहाँसँगको हाम्रो घनिष्ठता बढ्छ। यसरी प्रार्थनाद्वारा परमेश्वरको नजिकमा जान सकिन्छ। जति धेरै प्रार्थना गर्दछौं, त्यतिनै पवित्र आत्माले भरिन सक्दछौं। ''जब तिनीहरूले प्रार्थना गरिसके, तब तिनीहरू भेला भएको ठाउँ हल्लियो र अनि तिनीहरू सबै पवित्र आत्माले भरिए'' (प्रेरित ४:३१)।
४. प्रार्थनाका अवरोधकहरू
प्रार्थनामा थुप्रै प्रकारका अवरोधहरू उत्पन्न हुन सक्छन्। शैतानले कहिल्यै पनि मण्डलीले प्रार्थना गरेको चाहँदैन। शैतानले मण्डलीलाई कदम कदममा प्रार्थनाबाट अलग राख्न चाहन्छ। किनकि मण्डलीले प्रार्थना गऱ्यो भने ऊ आफू कमजोर हुन्छु भनी उसलाई थाहा छ। यसकारण एक विश्वासीलाई र मण्डलीलाई प्रार्थना गर्न नदिन त्यसले अनेकौं धूर्त युक्ति रच्दछ। पाप मानिसलाई प्रार्थनाबाट टाढा राख्ने प्रमुख कारक हो। पापले मानिसलाई परमेश्वरदेखि मात्रै होइन, प्रार्थनादेखि पनि टाढो राख्छ। जब मुक्ति पाएको मानिसको जीवनमा पुनः पापले राज्य गर्न थाल्छ, उसले परमेश्वरसँग प्रार्थना गर्न सक्दैन। ऊ परमेश्वरको नजीक जानै सक्दैन। उसको मनमस्तिष्कबाट आफूले प्रार्थना गनुपर्दछ भन्ने विचार नै हटेर गइसकेको हुन्छ। ''हेर परमप्रभुको हात बचाउन नसक्ने गरी छोटो भएको छैन, नत उहाँको कान बचाउन नसक्ने गरी छोटो भएको छ; तर तिमीहरूका अधर्महरूले तिमीहरूलाई तिमीहरूका परमेश्वरबाट अलग पारेका छन्, अनि तिमीहरूका पापहरूले उहाँको मुख तिमीहरूदेखि लुकाइदिएका छन्, र उहाँले सुन्नुहुन्न'' (यशैया ५९:१,२)।
यसरी नै अविश्वास पनि हाम्रो प्रार्थनाको अर्को अवरोधक हो। परमेश्वरमाथि नै पूर्णरूपमा विश्वास छैन भने कसरी उसले प्रार्थनाको शक्तिमाथि विश्वास राख्न सक्छ र? अनि प्रार्थनाको शक्तिमाथि नै उसको विश्वास छैन भने कसरी उसले प्रार्थना गर्न सक्छ र? यसरी नै व्यस्तता पनि अर्को प्रार्थनाको अवरोधक हो। मानिसहरू यति साह्रो व्यस्त छन् कि उनीहरूलाई प्रार्थना गर्ने समय नै हुँदैन। यसरी नै प्रार्थनाको महत्व नबुझेर र शिक्षा र चेतनाको कमीको कारण पनि मानिसहरू प्रार्थनादेखि बन्चित छन्। आफ्नै मनभित्रको अनेकता र मण्डलीको अनेकताले पनि प्रार्थनामा असर पारिराखेको छ।
बर्णबास श्रेष्ठ, कनान, काठमाण्डौ